
काठमाडौँ, २६ जेठ : मनहरी गाउँपालिका–४ स्थित नयाँबस्तीमा बसोबास गर्ने चेपाङ समुदायको कथामा वृतचित्र ‘पचेडा’ तयार गरिएको छ । साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) निर्देशनमा सक्रिय रहनुभएका दीपेन्द्र केसीले सो बस्तीमा बसोबास गर्ने सन्तलाल चेपाङको जीवनीमा आधारित रहेर उक्त वृतचित्रमा तयार गर्नुभएको हो ।
वृतचित्रको श्रव्यदृश्य सार्वजनिक गर्दै निर्देशक केसीले एक परिवारको भोगाइ र जीविकोपार्जनका लागि गरिएको सङ्घर्षलाई प्रस्तुत गरिएको बताउनुभयो । “हामीले नजरअन्दाज गरेको कथालाई वृतचित्रको माध्यमबाट आममानिससम्म ल्याउँदैछु”, उहाँले भन्नुभयो, “चेपाङका बारेमा कमै कथाहरू भेटेपछि यसमै वृतचित्र बनाउने निर्णय लिएर काम सुरु गरेँ ।”
“वृतचित्र तयार गर्दा उक्त परिवारको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ । मेरो उद्देश्य नै उनीहरूको जीवन र समुदायका कथा र पीडा आममानिस माझ ल्याउनु हो”, निर्देशक केसीले भन्नुभयो ।
निर्देशक केसीले वृतचित्रमा ‘चेपाङ जङ्गलमै किन बसिरहेका छन् ?’, ‘उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ?’ भन्ने प्रश्नको जवाफ खोजिएको बताउनुभयो । उक्त वृतचित्रलाई सोही चेपाङ बस्तीसँगै विदेशमा प्रदर्शनी गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।