काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ ।

वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रुपमा श्वास प्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य समस्या हुने गर्दछ ।

यसले विशेष गरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी, साथै गर्भावस्थाका महिला बढी प्रभावित हुने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले सबैमा अपिल गरेको हो ।

नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रबाट प्राप्त तथ्याङ्कले देखाएको छ । यस अवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आद्रता र सुक्खा मौसमजस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारणजस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुँवा धुलोबाट वायु प्रदूषण हुने गरेको पाइएको छ ।

हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोको कारणले जनधनको क्षतिका विवरण प्राप्त भइरहेका विभागले जनाएको छ ।

भू–उपग्रहको तथ्याङ्क विश्लेषणबाट प्राप्त विवरणबमोजिम सन् २०२४ को सुरुआतदेखि हालसम्म एक हजार ६५३ डढेलो तथा आगलागीका घटना भएको देखिन्छ । पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालको अधिकांश भूभागमा वायु प्रदूषण बढेको पाइएको छ ।

प्रदूषण बढी भएका स्थानमा घर बाहिर निस्कदा सबै नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न तथा वायु प्रदूषण बढाउने किसिमका क्रियाकलापजस्तै फोहर बाल्ने, कृषिजन्य अवशेष बाल्नेलगायतका क्रियाकलाप नगर्नसमेत विभागको अनुरोध छ । सानो लापर्वाहीका कारण वन डढेलोले ठूलो क्षति पु¥याउन सक्ने भएकाले सचेत हुनका साथै वन डढेलो नियन्त्रणका लागि जिम्मेवार निकायले सक्रियता बढाउन तथा सरोकारवाला निकायसँग हातेमालो समेत गर्नुहुन आम समुदायलाई विभागले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर