काठमाडौँ, २१ चैत  ।   कवि, लेखक तथा पत्रकार हरि अधिकारीद्वारा लिखित ‘सङ्कलित गद्यरचना’ सार्वजनिक गरिएको छ । वरिष्ठ साहित्यकार धुव्र सापकोटाले आज राजधानीमा आयोजित कार्यक्रममा कृतिको विमोचन गर्दै नेपाली गद्य साहित्यका लागि अधिकारीको कृति महत्वपूर्ण दस्तावेज भएको टिप्पणी गर्नुभयो ।

अधिकारीको लेखनलाई आफूले धरै पहिलेदेखि चिनेको प्रसङ्ग उल्लेख गर्दै सापकोटाले लालित्यपूर्ण भाषामा लेखिएका उहाँका लेखबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । अमेरिकाबाटै लिखित मन्तव्य प्रेषित गर्नुभएका अधिकारीले आफूले रच्ने साहित्यमा नेपाली भाषाको मौलिकता, सौन्दर्य र लालित्यको मर्यादा कायम रहोस् भन्ने कुरामा आफू सचेत रहँदै आएको बताउनुभयो ।

समालोचक शरच्चन्द्र वस्तीले अधिकारीको लेखनशैली उच्च कोटीको रहेको उल्लेख गर्नुहुँदै कृतिमा सङग्रहित सबै रचनाको विशिष्ट महत्व रहेको बताउनुभयो । इतिहासका पात्रको सजीव चित्रणले कृतिलाई पठनीय बनाएको उहाँले सुनाउनुभयो । नेपाली साहित्य र राजनीतिमा समेत रुचि राख्नेका लागि पनि कृति पठनीय रहेको वस्तीले बताउनुभयो ।

साहित्यकार धुव्र मधिकर्मीले कुनै पनि विषयमा निर्भिक भएर लेख्नु नै बहुप्रतिभाशाली अधिकारीको लेखकीय विशेषता भएको धारणा राख्नुभयो । समालोचक राजकुमार बानियाँले अधिकारीको लेखलाई ‘दृश्यमान शब्दको मोहक नृत्य’ को सङ्ज्ञा दिँदै लेखन दुनियाँमा कसैले पनि अधिकारीलाई नजरअन्दाज गर्न नसक्ने दाबी गर्नुभयो । पत्रकार तथा लेखक निर्मल अर्यालले भाषामा बेजोड पकड भएका अधिकारी नेपाली साहित्य तथा पत्रकारितामा धेरैका लागि ‘रोल मोडल’ भएको विचार राख्नुभयो ।

प्रकाशक आशुतोष अधिकारीले सबैको साथ सहयोगबाट नै छोटो समयमा कृति प्रकाशनमा ल्याउन सकिएको बताउनुभयो । राजनीति, साहित्य, यात्रा संस्मरण, व्यक्तित्व चर्चा, संस्मरणसहित कृतिमा विभिन्न शीर्षकमा २३ निबन्ध सङग्रहित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर