दाङ, ८ मङ्सिर ।  दाङ क्षेत्र नं ३ को प्रदेशसभा (१) मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी १९ हजार आठसय मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का घनश्याम पाण्डेले १४ हजार चारसय ५० मत प्राप्त गरी पराजित हुनुभएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँहरुका बीच पाँच हजार चारसयको मतान्तर रहेको छ । यो क्षेत्रमा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँच सय ७० मत खसेको थियो ।

पाल्पा २ (१) मा कांग्रेसका राना पुनः निर्वाचित

पाल्पा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका वीरबहादुर राना विजयी हुनुभएको छ । रानाले १६ हजार ३९ मतसहित विजयी हुनुभएको हो । प्रतिस्पर्धी नेकपा (एमाले)का परशुराम भट्टराईलाई दुई हजार ७५ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा राना विजयी हुनुभएको छ । एमालेका भट्टराईले १३ हजार नौ सय ६४ मत पाउनुभएको छ ।

रानाले मतदान गरी विजयी गराउनुहुने सबै मतदातालाई धन्यवाद दिँदै संविधानको रक्षा गर्दै विधिको शासन, सुशासन कायम राख्ने, जनताको हर समस्या समाधानमा आफूले तल्लिन भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । लुम्बिनी प्रदेशको निवर्तमान ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहनुभएका राना दुई पटक नेपाली कांग्रेस पाल्पाको पार्टी सभापति भएर काम गरिसक्नुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ हुँदै वडा तहबाट जिम्मेवारी निभाउँदै आउनुभएका प्रखर वक्ताका रुपमा परिचित रानाले पार्टीलाई विधि, पद्धति, नीति नियम तथा अनुशासनको लाईनमा हिँडाउन लागिपर्ने छबि बनाउनुभएका नेताका रुपमा चिनिनुहुन्छ ।

प्रदेशसभा सदस्य निर्वाचनमा मङ्गोल नेशनल अर्गनाइजेशनका लक्ष्मण गाहाले एक हजार पाँच सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले एक हजार पाँच सय २०, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानामगरले तीन सय ५१, जनता समाजवादी पार्टी नेपालका खिकबहादुर रेश्मी मगरले एक सय ६३ र नेपाल मजदुर किसान पार्टीका माधव अधिकारीले ७७ मत प्राप्त गर्नुभएको छ । —

प्रतिक्रिया

सम्बन्धित खवर