काठमाडौँ, १२ कात्तक । नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११औँ संस्करणको शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ ।

शक्रुबार साँझ चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले महोत्सवको उद्घाटन गर्नुभयो ।
उहाँले महोत्सव कलाको प्रदर्शनीसँगै संस्कृति आदानप्रदानका लागि उपयुक्त माध्यम भएको भन्दै देखाइने फिल्मले युरोपलाई बुझ्ने अवसर प्रदान गर्ने जानकारी दिनुभयो ।

“महोत्सव हाइब्रिड मोडलमा सञ्चालन हुनेछ । यसलाई चलचित्र विकास बोर्डको हलमा र अनलाइन हेर्न सकिनेछ”, राजदूत डेप्रेजले भन्नुभयो । उहाँले महोत्सव पहिलोपल्ट काठमाडौँ बाहिर सुर्खेतमा पनि गर्न लागिएको जानकारी दिनुभयो ।

महोत्सवको सद्भावनादूत रहनुभएकी अभिनेत्री केकी अधिकारीले महोत्सवलाई सिर्जनाको पर्वको रूपमा लिने गरेको बताउनुभयो ।

“महोत्सवले फिल्मकर्मीमा शिल्प निर्माणको अवसर प्रदान गर्नुका साथै फिल्म साक्षरता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मलाई छ”, अभिनेत्री अधिकारीले भन्नुभयो ।

उद्घाटनसँगै एक घन्टा समयावधिको रीता हुतानेनद्वारा निर्देशित ‘गड्स् अफ मोलेन्बेक’ शीर्षकको फिल्म देखाइएको थियो । डकुमेन्ट्री श्रेणीको फिल्ममा ब्रसेल्सको मोलेनबिक क्षेत्रमा हुर्किरहेका बच्चाको आँखाबाट त्यहाँ बसोबास गरिरहेका मुस्लिम समूदायको सङ्कटलाई देखाइएको थियो ।

ब्रसेल्सको सो ठाउँलाई जिहादी उत्पादन गर्ने कारखानाका रुपमा लिने गरिएको कथा फिल्मले प्रस्तुत गरेको छ । शनिबारदेखि मङ्गलबारसम्म नियमित चल्ने महोत्सवमा १३ युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन् । सुर्खेतमा महोत्सव कात्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालयमा आयोजना गरिने छ । सुर्खेतमा पाँच युरोपियन तथा तीन नेपाली चलचित्र प्रदर्शित गरिने तालिका छ । —

प्रतिक्रिया

सम्बन्धित खवर