काठमाडौ, ८ असोज । रुसले आफ्नो नियन्त्रणमा लिएका युक्रेनी भूभागमा सुरु गरेको जनमतसङ्ग्रहका लागि मत सङ्कलन गर्न सशस्त्र सैनिकहरू घरघरमा जान थालेको युक्रेनी नागरिकहरूले बताएका छन्।

तपाईँले मुखैले उत्तर दिनुपर्छ र सैनिकहरूले त्यसलाई पानामा चिन्न लगाएर राख्छन्, एनर्होदरबाट एक महिलाले बीबीसीसँग भनिन्।

दक्षिणी खेअर्सनमा रुसी सुरक्षाकर्मीहरूले मतपेटिका लिएर सहरको मध्यभागमा मत सङ्कलन गर्न थालेका छन्।

रुसी सरकारी सञ्चारमाध्यमहरूका अनुसार घरदैलो मतदान सुरक्षाका कारण गरिएको हो।
व्यक्तिगत मतदान खासगरी सेप्टेम्बर २७ मा हुनेछ, रुसी समाचारसंस्था तासले जनाएको छ।

अन्य दिनहरूमा समुदाय र घरदैलो कार्यक्रमका रूपमा मतदान सञ्चालन हुनेछ।

चिन्ता
मेलिटोपोलमा रहेकी एक महिलाले बीबीसीलाई बताएअनुसार दुई रुसी सैनिकसँग आएर दुई स्थानीय सहयोगीहरूले उनका अभिभावकलाई उनीहरूको घरमा आएर मतपत्र दिएर हस्ताक्षर गर्न भनेका थिए।

मेरो बुवाले रुसमा गाभिने हुन्न भन्नुभयो, ती महिलाले सुनाइन्।

छेउमै बसेकी मेरी आमाले हुन्न भने के हुन्छ भनेर सोध्नुभयो। उनीहरू केही हुँदैन भने।

अब आफूहरूलाई रुसीहरूले दुःख दिनेछन् भनेर आमा चिन्तामा हुनुहुन्छ।
ती महिलाका अनुसार प्रत्येक व्यक्तिका लागि छुट्टाछुट्टै नभईकन पूरै घरधुरीका लागि एउटा मतपत्र राखिएको छ।

यी अरूले बताएका कुराहरूमा आधारित प्रमाण हुन्।

मतदान गराउन सशस्त्र सैनिक परिचालन गरिनुले चुनाव स्वतन्त्र र निष्पक्ष हुने भन्ने मस्कोको दाबीसँग विरोधाभास देखाउँछ।

रुसी लक्ष्य
विज्ञहरूका भनाइमा पाँच दिनका लागि तय गरिएको स्वघोषित जनमतसङ्ग्रहले रुसलाई अवैधानिक तरिकाले चारवटा अधीनस्थ क्षेत्र वा केही भाग नियन्त्रणमा रहेका युक्रेनी भूभागलाई आफ्नो दाबी गर्ने बाटो दिनेछ।

रुसले युक्रेनी भूमिलाई गाभ्ने योजना बनाएको अमेरिकाको दाबी
अर्को शब्दमा रुसी अतिक्रमणपछिको सात महिनामा यो आफ्नोमा विलय गर्ने छद्म मतदान हुनेछ।

यसरी गाभ्ने कामले अन्तर्राष्ट्रिय मान्यता पाउनेछैन तर त्यसले गर्दा रुसले आफ्नो भूभागमा पश्चिमा देशहरूले युक्रेनलाई दिएका अस्त्र प्रयोग गरेर आक्रमण भएको दाबी गर्ने अवस्था सिर्जना हुनसक्छ। त्यसले युद्धलाई थप चर्काउनेछ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

अमेरिकी राष्ट्रपति जो बाइडनले ती जनमतसङ्ग्रहलाई छद्मको सङ्ज्ञा दिँदै जबरजस्ती केही युक्रेनी भूभाग गाभ्नका लागि मिथ्या बहाना प्रस्तुत गरिएको बताउनुभयो ।

बाइडनले त्यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन समेत भन्नुभयो ।

अमेरिकाले युक्रेनी भूभागलाई युक्रेनी हिस्साबाहेक अन्य केही रूपमा मान्यता दिनेछैन, उहाँको भनाइ छ।

ब्रिटिश विदेशमन्त्री जेम्स क्लेभर्लीले यी छद्म जनमतसङ्ग्रहमा नक्कली मतदानको सङ्ख्या र त्यसको स्वीकृत दरका लागि रुसी अधिकारीहरूले लक्ष्यहरू तोकिसकेको प्रमाण यूकेसँग भएको बताउनुभएको छ ।

क्लेभर्लीले रुसले चारवटा क्षेत्रहरू (लुहान्स्क, डोनेट्स्क, खेअर्सन र जापोरीजा) लाई यस महिनाको अन्त्यसम्ममा रुसमा गाभ्ने कामलाई औपचारिकता दिने योजना बनाएको बताउनुभयो ।

अन्योल
खेअर्सनस्थित एक स्रोतले बीबीसीलाई बताएअनुसार मतदानमा सहभागिताका लागि जनस्तरमा उत्साह देखिएको छैन र कुनै प्रयास भएको छैन।

रुसी समाचारसंस्थाको घोषणामा भने १० वर्षदेखि प्रयोगमा नरहेको एउटा भवनमा मतदान हुने घोषणा गरिएको छ।

खेअर्सनमै रहेकी अर्की एक महिलाले मतदान भएको देखिने ठाउँबाहिर सशस्त्र लडाकुहरू देखेको बताइन्।

उनले मतदान गर्न नपरोस् भनेर आफूले पासपोर्ट बिर्सिए झैँ गरेको बताइन्।

ती महिला आफू र आफ्नो परिवारका सदस्यहरू जनमतसङ्ग्रहको विपक्षमा रहेको बताउँछिन्।

यस जनमतसङ्ग्रहपछि हाम्रो जीवन कस्तो हुन्छ भन्ने हामीलाई थाहा छैन, उनले भनिन्।

उनीहरूले के गर्न खोजेका हुन् भनेर बुझ्न निकै कठिन छ।

किएभले जनमतसङ्ग्रहले केही परिवर्तन नगर्ने र युक्रेनी सैनिकहरू आफ्ना भूभाग मुक्त पार्न अघि बढिरहने बताएको छ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर