काठमाडौ, १८ साउन । चीनको विदेश मन्त्रालयले बेइजिङ स्थित अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ।

चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिनुभएको छ । उहाँले चीन चुप नबस्ने बताउनुभयो ।

मङ्गलवार अबेर ताइवान पुग्नुभएको पलोसी बुधवार त्यहाँको संसद्‌मा पुग्नुका साथै उहाँले ताइवानका राष्ट्रपतिसँग पनि भेट गर्ने ठानिएको छ।

अमेरिकी संसद्कको तल्लो सदनका सभामुख पलोसी मङ्गलवार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ।

पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उहाँको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो।
पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुनुहुन्छ । उहाँनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आउनुभएको छ ।

पलोसीले आफ्नो यात्रा कार्यक्रममा ताइवानको उल्लेख नगरी आइतवारदेखि एशियाको भ्रमण सुरु गरेकी हुन्।

चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ।

उसले मङ्गलवार उक्त भ्रमणका लागि अमेरिकाले मुल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ।

चिनियाँ विदेश मन्त्रालयकी एकजना प्रवक्ता हुवा चुनिङले उक्त भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, चीनको सार्वभौम सुरक्षा चासोलाई कम आँकेको कुराको अमेरिकाले जिम्मा लिनुपर्नेछ र त्यसको मूल्य चुकाउनुपर्नेछ।

मङ्गलवार चीनले ताइवान र मुख्य चिनियाँ भूभागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको छ।

उसका सैनिकहरूले युद्धको अभ्यास पनि गरिरहेका छन् र चिनियाँ सेनाको पूर्वी सैन्य कमाण्डले अनलाइनमा एउटा भिडिओ पोस्ट गर्दै आफूहरू कुनै पनि परिस्थितिका लागि तयार रहेको जनाएको छ।

ताइवानको रक्षा मन्त्रालयले उक्त टापु नजिकै भइरहेको सैन्य गतिविधिबारे आफू पूर्ण जानकार रहेको र चिनियाँ धम्कीबाट आफूलाई बचाउन पूर्ण कटिबद्ध रहेको जनाएको छ।

अमेरिकाको चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध छ भने ताइवानसँग त्यस्तो सम्बन्ध छैन।

तर उसले ताइवानसँग मजबुत अनौपचारिक सम्बन्ध रहेको बताउँछ।

यसै साताको सुरुमा अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले पत्रकारहरूलाई चीनले सैन्य उक्साहट सहितको प्रतिक्रिया दिन सक्ने बताउनुभएको थियो ।

उहाँले त्यस्ता गतिविधिमा ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गर्ने, ठूलो मात्रामा हवाई वा नौसेना गतिविधिहरू प्रक्षेपण गर्ने वा ताइवान स्ट्रेटको नौसैनिक नाकाबन्दीलाई जायज ठहराउन नक्कली कानुनी दाबी गर्ने हुनसक्ने बताउनुभएको थियो ।

उहाँले हालसम्म सिङ्गापुर र मलेशिया भ्रमण गरिसक्नु भएको छ भने दक्षिण कोरिया र जापानमा पनि समय निर्धारण गरिसकिएको छ।

यद्यपि अमेरिकी र ताइवानी सञ्चारमाध्यममा उनी मङ्गलवार साँझ ताइवानमा उत्रने र बुधवार ताइवानी नेताहरूसँग छलफल गर्ने विवरणसहितका खबरहरू व्यापक रूपमा आइरहेका छन्।

मङ्गलवार ताइवानका प्रधानमन्त्री सू जेन चाङले टापुले कुनै पनि विदेशी पाहुनालाई न्यानो स्वागत गर्ने र कुनै पनि आगन्तुकका लागि सबैभन्दा उपयुक्त व्यवस्था गर्ने बताउनुभयो ।

यो भ्रमण ह्वाइट हाउसका लागि कूटनीतिक टाउको दुखाइ बनेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत साता अमेरिकी सेनाले पलोसीको ताइवान भ्रमण अहिलेका लागि राम्रो विचार होइन भन्ने विश्वास गरेको बताउनुभएको थियो ।

सोमवार कर्बीले पलोसीलाई ताइवान भ्रमण गर्ने अधिकार भएको र उहाँले आफ्नो निर्णय आफैँ लिने बताउुनुभएको थियो ।

उहाँले ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेसको स्वतन्त्रतालाई सम्मान गर्नेमा पनि जोड दिनुभयो ।

उहाँका भनाइमा अमेरिकी जनता र अमेरिकी कङ्ग्रेसको ताइवानलाई बलियो द्विपक्षीय समर्थन रहेको छ।

पलोसी डेमोक्र्याटिक पार्टीकी एकजना वरिष्ठ व्यक्तित्व हुनुहुन्छ ।

उहाँ लामो समयदेखि चिनियाँ नेतृत्वको मुखर आलोचक बन्नुभएको छ ।

उहाँले त्यहाँ मानव अधिकारको प्रश्न उठाउँदै चीनको निन्दा गर्ने गर्नुभएको छ ।

उहाँले सुरुमा गत एप्रिलमा ताइवान भ्रमण गर्ने योजना बनाउनुभएको थियो तर कोभिड १९ सङ्क्रमित भएपछि सो स्थगित गर्नुभयो

यो महिनाको सुरुमा उहाँले ूताइवानलाई समर्थन देखाउनु हाम्रो लागि महत्त्वपूर्ण कुरा होू भन्नुभएको थियो ।

कर्बीले सदनका रिपब्लिकन पूर्व सभामुख न्यूट गिङ्ग्रिएचले सन् १९९७ मा ताइवानको भ्रमण गरेको र अन्य अमेरिकी सांसदहरूले यसै वर्षको सुरुमा ताइवान भ्रमण गरेको कुरा औल्याउनुभएको छ ।

केही परिवर्तन भएको छैन। कुराकानी गर्न त्यहाँ कुनै नाटकको आवश्यकता छैन। सदनका सभामुख ताइवान गएका पहिले पनि उदाहरण छन्, उहाँले भन्नुभयो ।

उहाँले पलोसी आफ्नो एशियाली भ्रमणका क्रममा अमेरिकी सैन्य विमानमा यात्रा गरिरहेको बताउनुभयो । बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर