गलकोट, १८ असार । बागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ ।
पालिकाले १६ बालबालिकाका लागि बालगृहमा राखेर शिक्षा दिन थालेको छ ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले दोस्रो कार्यकालको पदभार ग्रहण गर्ने बेलामै पालिकामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एमबीबीएस पढाउने र अभिभावक नभएका बेसहारा तथा अनाथ बालबालिकाको लालनपालन र माध्यमिक शिक्षाको ग्यारेन्टी गर्ने गरी बालगृह सञ्चालन गर्ने योजना एक महिनामै कार्यान्वयनमा ल्याउनुभएको हो ।

दुर्गम मानिने तमानखोला गाउँपालिका–३ तमान गाउँमा पालिकाले बालगृह सञ्चालन गर्न थालेको छ । बालगृहमा अहिले १६ बालबालिकालाई आश्रय दिएर गाउँपालिकाले निःशुल्क शिक्षाको व्यवस्थापन मिलाएको छ । अभिभावक गुमाएका, शिक्षाबाट वञ्चित भएका र पालनपोषणको अभावमा विद्यालय आउन नसकेका बालबालिकालाई पालिकाले बालगृहमा राखेर अध्ययन गराउन बालगृह सञ्चालनमा ल्याएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

उनीहरुले नजिकको सामुदायिक विद्यालयमा अध्ययन गर्ने छन् । कक्षा १२ सम्म पालिका र बालगृह सञ्चालन समितिले निःशुल्क पठनपाठनसँगै खाना र आवासको व्यवस्थापन गर्ने भएको छ ।

प्रत्येक महिना कम्तीमा दुई पटक उनीहरुको स्वास्थ्य परीक्षण गरिने, अध्ययनलाई राम्रो बनाउन पालिका र समितिले हेरचाह गर्ने गरी कार्यक्रम अगाडि बढाइएको अध्यक्ष बुढामगरले बताउनुभयो ।

“अभिभावक नभएका, शिक्षा लिनबाट वञ्चित भएका र असहाय बालबालिकाको कक्षा १२ सम्म पठनपाठन र आवससहितको सेवा गाउँपालिकाले दिन्छ, पालिकामा बालबालिका कोही पनि पढ्नबाट वञ्चित नहोस् भन्ने हिसाबले हामीले अहिले बालगृहको सञ्चालनमा ल्याएको हौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो ।

गाउँपालिकाको रु दुई लाख अनुदानसहित थालनी गरिएको बालगृह कोषमा शिक्षाप्रेमीबाट रु आठ लाख गरी १० लाख जम्मा भइसकेको छ । यस्तै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत जनप्रतिनिधिले समेत आफूले पाउने पारिश्रमिको पाँच प्रतिशत रकम आफ्नो कार्यकाल अवधिभर बालगृहलाई दिने गरी अभियान चलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर