काठमाडौँ, २९ जेठ । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ ।

अमेरिकाको मुसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै एक एक अङ्क बाँडेका छन् । नेपालले दिएको २७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रनको योगफल बनाएपछि खेल बराबरीमा सकिएको हो ।

अमेरिकाका लागि स्टेभेन टेलरले ११४ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन बनाए । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रन जोडे ।
नेपालका आदील अन्सारीले दुई विकेट लिए भने कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १÷१ विकेट लिए ।

अमेरिकालाई जितको लागि अन्तिम छ बलमा छ रन चाहिएको थियो तर नेपालका आदील अन्सारीले पाँच रन खर्चिदै खेललाई बराबरीमा ल्याए । निकै रोमाञ्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो ।

पाँचौ बलमा आदीलले आरोन जोन्सलाई पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल बराबरीमा सकियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २७४ रन जोडेको थियो । नेपालका लागि उपकप्तान रोहित पौडेलले ६२ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै आसिफ शेखले ६१ रन जोड्दा देव खनालले ५४ रन बनाए । आदीलले ३६ रन जोड्दा कुशल भुर्तेल १९ रनमा आउट भए । कप्तान सन्दीपले १० रन बनाए । आरिफ शेख ८, दीपेन्द्र सिंह ऐरी १ सोमपाल कामी १ र सुशन भारीले १ बनाए ।

अमेरिकाका रुष्टि थिरनले ४ विकेट लिए भने अलि खान र सौरभ नेत्रभाल्करले २÷२ विकेट लिए । खेलमा आदील प्लेयर अफ द म्याच घोषित भए । उक्त सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

अमेरिकाले भने पहिलो खेलमा ओमानलाई हराएको थियो । अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मङ्गलबार खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर