काठमाडौँ, ६ जेठ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया तीनदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमन्त्री जेयालाई परराष्ट्र मन्त्रालयका अधिकारी र यहाँस्थित अमेरिकी दूतावासका अधिकारीले स्वागत गर्नुभएको थियो । उहाँले शनिबार र आइतबार काठमाडौँमा विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जेयाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्य–सचिव शंकरदास वैरागीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उपमन्त्री जेयाको भ्रमणबारे आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

जेया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग युएसएआइडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी हुनुहुन्छ । दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष चलिराखेको सन्दर्भमा भ्रमणको आदानप्रदान भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर