युएई, ३१ वैशाख । संसारका सबैभन्दा धनी शासकमध्येका एक संयुक्त अरब एमिरेट्स (यूएई)का अध्यक्ष शेख खलिफा बिन जाएद अल नाह्यानको ७३ वर्षको उमेरमा निधन भएको छ।

शेख खलिफा सन् २००४ देखि यूएईका अध्यक्ष हुनुहुन्थ्यो । तर सन् २०१४ मा मस्तिस्काघात भएयता उहाँको भूमिका धेरैजसो आलङ्कारिक रहँदै आएको थियो।

उहाँका सौतेनी भाइ मोहमद बिन जाएद अल नाह्यान अब राज्यको मामिलाका प्रमुख बनेका छन्।

अल नाह्यान परिवारसँग १५० अर्ब डलर बराबरको सम्पत्ति रहेको विश्वास गरिन्छ।

यूएईको अध्यक्षका साथै शेख खलिफा अबुधाबीका शासक पनि हुनुहुन्थ्यो ।

अबुधाबी यूएईमा आबद्ध सातवटा अमिरातको समूहको तेलधनी राजधानी पनि हो।

उहाँको निधनको खबर सरकारी डब्ल्यूएएम समाचार एजेन्सीले घोषणा गरेको थियो।

अध्यक्षको कार्यालयसम्बन्धी मन्त्रालयले ४० दिन लामो शोकको घोषणा गरेको छ र शुक्रवारदेखि नै झण्डाहरू आधा झुकाइने छन्।

तीन दिनसम्म सरकारी र निजी क्षेत्रहरूमा सबै काम स्थगित हुने छन्।

शेख खलिफाले सन् २००४ को नोभेम्बरदेखि यूएईको दोस्रो अध्यक्षका रूपमा कार्यभार सम्हाल्नु भएको थियो । उहाँ आफ्ना बाबुका उत्तराधिकारीका रूपमा अबुधाबीका १६ औँ शासक हुनुहुन्थ्यो ।

शासनको पहिलो दशक उहाँले सङ्घीय सरकार र अबुधाबी दुवैमा ठूलो स्तरको पुनर्संरचना कार्यको अध्यक्षता गुर्नुभएको थियो ।

मस्तिष्काघात भएपछि उहाँलाई सार्वजनिक रूपमा विरलै देखिन्थ्यो। तर उहाँले विभिन्न निर्देशनहरू जारी गर्ने कार्यलाई निरन्तरता दिइराख्नु भएको थियो ।

यूएईको संविधानअनुसार अब दुबईका शासक तथा उपाध्यक्ष शेख मोहम्मद बिन रशिद अल मक्तुमले अन्तरिम अध्यक्षको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

सातवटा अमिरातहरूका शासकहरूलाई एकै स्थानमा भेला गराउने यूएईको सङ्घीय परिषद्को बैठक नयाँ अध्यक्ष चयन गर्नकालागि अबको ३० दिनभित्र बस्नुपर्नेछ।बस्बीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर