काठमामण्डौं, २६ मंसिर । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार विमलेन्द्र निधिले देउवाविरूद्ध सबै एकजुट हुने बताउनु भएको छ । आज मनोनयन पत्र फिर्ताको समय सकिएपछि भृकुटीमण्डपमा पत्रकारहरूसित कुरा गर्दै उहाँले यो कुरा बताउनुभएको हो ।
निधिले आफ्नो भनाइ स्पष्ट पार्दै बताउनुभयो : सभापतिको पदमा पहिलो चरणको मतदानबाट कसैले पनि जित्दैन । दोस्रो चरणको मतदनामा हामी सबै देउवा विरूद्ध जुट्छौं ।
उहाँले भन्नुभयो : शेरबहादुर वाहेक म लगायत पाँच जनाको उम्मेदवारी नेतृत्व परिवर्तन र पुस्ताहस्तान्तरणको लागि हो । त्यसैले दोस्रो चरणको मतदानमा हामीहरू देउवा विरुद्ध लाग्छौं र नेतृत्व परिवर्तन गराएरै छाड्छौं ।
कांग्रेसको चलिरहेको चौधौं महाधिवेशन अन्तर्गत भोलि सभापतिसहित केन्द्रिय पदाधिकारी र सदस्य छनोटको लगि मतदान हुँदैछ ।
सभापतिको पदामा शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ र शेरबहादुर देउवा यी पाँच जनाबीच प्रतिस्पर्धा हुँदैछ । अर्का प्रत्याशी युवराज न्यौपानेले शेखर कोइरालालाई समर्थन गर्दै मनोनयन पत्र फिर्ता लिइसक्नु भएको छ ।
कांग्रेसको विधान अनुसार सभापतिमा चुनिन खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्छ ।त्यति प्रतिशत मत कसैले पनि ल्याउन नसके दोस्रो चारणको मतदान हुन्छ ।
पहिलो मतदानमा सबैभन्दा धेरै मत ल्याउने दुइ जना मात्र दोस्रो चरणको मतदानमा उम्मेदवार हुन योग्य हुन्छन् । अर्थात् प्रथम चरणमा पहिलो र दोस्रो हुने मात्रै चुनावी मैदानमा रहन्छन् । अन्य बाहिरिन्छन् ।
निधिका अनुसार पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सक्दैन ।तर यता पौडेल समूहले भने पहिलो चरणमा नै चुनावको छिनोफानो हुने र त्यसमा आफ्नो समूहका उम्मेदवार शेखर कोइराला विजयी हुने आकालन गरेको छ ।