काठमाण्डौँ, २६ मंसिर । नेपाली कांग्रेस सभापति पदमा उम्मेदवारी दिनुभएका युवा नेता युवराज न्यौपानेले सो उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिनुभएको छ । उहाँले पौडेल समूहका सभापतिका उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्ने बताउनु भएको छ ।
न्यौपानेले नाम फिर्ता लिएसँगै अब सभापतिको स्पर्धामा ५ जना रहेका छन् । शेरबहादुर देउवा,शेखर कोइराला, प्रकाशमान सिंह,विमलेन्द्र निधी र कल्याण गुरुङ ।
उम्मेदवारहरूले नाम फिर्ता लिने पूर्व निर्धारित समय आज शनिबार ११ बजेसम्म भएकोमा पछि बढाएर १२.३० सम्म गराइएको थियो ।
न्यौपानेले उम्मेदवारी दिंदा पार्टी र देशका हितको लागि गर्नुपर्ने विभिन्न २८ वटा विषयहरु उठाउनु भएको थियो । ती सबै विषयहरू सभापतिका अर्का प्रत्याशी शेखर कोइरालाले सम्बोधन गर्ने वचनबद्धता प्रकट गरेको न्यौपानेको भनाइ छ ।
नाम फिर्ता लिएपछि न्यौपानेले पत्रकारहरूसित बताउनुभयो : मैले उठाएका सबै मुद्दाहरू शेखर कोइरालाजीले सम्बोधन गर्छु भन्ने बचन दिनुभयो ।त्यसैले मैले उहाँलाई समर्थन गरेर जिताउन आफ्नो उम्मेदवारी फिर्ता लिएको हुँ ।
कांग्रेसको भातृ संस्था तरुण दलका नेता न्यौपाने गोरखा जिल्लाको हुनुहुन्छ ।