काठमाण्डौं, १८ मंसिर । नेपाली कांग्रेसले १४ औं महाधिवेशन अन्तर्गत आज ६ बटा प्रदेशमा नेतृत्व छान्दैछ । मुलुक संघीय संरचनामा गएपछि कांग्रेसले प्रदेश समितिहरू बनाउन लागेको यो पहिलोपल्ट हो ।
यो नेतृत्व चयनको लागि आज दुइ नम्वर प्रदेशबाहेक अन्य सबैमा मतदान कार्य भैरहेको छ । दुइ नम्बरमा केही प्रतिनिधिहरूको नाममा विवाद भएपछि त्यहाँको प्रदेश अधिवेशन आरम्भ भए पनि निर्वाचन प्रक्रिया भने हिजो सुरु हुन सकेन ।
निर्वाचन समितिले आज शनिबार मात्रै प्रदेश दुइको निर्वाचन कार्य अघिबढ्ने बताएको छ ।
वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले समूहगतै रूपमा आ-आफ्नो पक्षका उम्मेदवारहरू उठाएका छन् । सबै प्रदेशमा देउवा र पौडेल समूहको सोझो टक्कर देखिएको छ ।
एक नम्बर प्रदेशमा भने देउवा समूहले कृष्णप्रसाद सिटौला पक्षीय उम्मेदवारलाई समर्थन गरेको छ । उम्मेदवार जता जो भए पनि चुनावमा देउवा समूह र पौडेलसमूहको काडा टक्कर छ । यो प्रदेशमा सभापतिको पदमा पौडेलका गुरु घिमिरे र सिटौलाका उद्धव थापाबीच प्रतिष्पर्धा छ ।
यता वाग्मती प्रदेशमा भने देउवा, पौडेल र सिटौला तिनैजनाका सभापतिका उम्मेदवार छन् ।
प्रदेश राजधानी हेटौंडामा भैरहेको अधिवेशनमा देउवा समूहबाट सभापतिमा इन्द्र बानिया, पौडेल समूहबाट जगदीश्वरनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधान उठेका छन् । यहाँ समूहगत रूपमा देउवा र पौडेल पक्षको चर्चा बढी भए पनि व्यक्तिगत रूपमा प्रधान त्यति कमजोर मानिदैनन् ।
उता गण्डकीमा देउवाका अर्जुन जोशी र पौडेलका शुक्रराज शर्माबीच कडा प्रतिष्पर्धा छ । यहाँ सभापतिको लागि मन्य उम्मेवार छैनन् ।
लुम्बिनी प्रदेशमा देउवाका भरतकुमार शाह(रुपन्देही) र पौडेलका अमर सिंह (रोल्पा) बीच भिडन्त हुँदैछ । दुबै पक्ष समूहगत रूपमा चुनावी मैदनमा उत्रिएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४- २६ गते काठमाण्डौमा हुँदैछ ।
त्यस्तै देउवा पक्षले कर्णाली प्रदेशको सभापतिको उम्मेदवार
जुम्लाका ललितजंग शाहीलाई बनाएको छ भने पौडेल समूहले भूपेन्द्रजंग शाहीलाई उठाएको छ । देउवाका ललितजंग जुम्लाका हुन् । उनी २०७०को संविधान सभामा सभासद् थिए । भूमेन्द्र तरूणदलको महामन्त्री रहेका युवा नेता हुन् ।
त्यहाँ केन्द्रिय सभापतिको लागि उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले मोतीराज बमलाई उठेका छन् । तर प्रतिष्पर्धा दुइ शाहीबाबीच हुने देखिएको छ ।
सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा पौडेल पक्षबाट नारायाणदत्त मिश्रले उम्मेदवारी दिएका छन् भने देउवासमूहले पूर्वमन्त्री वीरबहादुर बलायरलाई उठाको छ । दुबैले आ-आफ्नो प्यानल बनाएर प्रतिष्पर्धा गरिरहेका छन् ।
गत बिहीबार सुरु भएको प्रदेश अधिवेशनको चुनवी परिणाम आज अबेर रातिबाटै आउने बताइएको छ । तर पौडेल वा देउवा कुन समूहले कुन प्रदेशमा वाजी मार्छ भन्न सकिने स्थिति देखा परेको छैन ।