काठमाण्डौं, ११ मंसिर ।  नेकपा (माओवादी केन्द्र) ले आज देशभरिका ७५३ पालिकाहरूमा एकैचोटी अधिवेशन गर्दैछ । पालिकाहरूको अधिवेशन दिउँसो १ बजे सुरु हुने र त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल्ली सम्बोधन गर्ने कार्यक्रम रहेको  अध्यक्ष  प्रचण्डको सचिवालयले जनाएको छ ।

अधिवेशनबाट पालिका तहको नेतृत्व चयन हुनेछ ।पालिका अधिवेशनबाट प्रदेश प्रतिनिधि पनि चयन गरिने छन् ।

यसअघि माओवादी केन्द्रले मंसिर ४ गते यसरी नै देशभरि वडा अधिवेशन गरेको थियो। वडा तहको नेतृत्व त्यतिबेलै चयन भैसकेको छ ।

माओवादी केन्द्रको विधानमा पार्टीका विभिन्न तह र जनवर्गीय संगठनहरूको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छ। त्यस बमोजिम अहिले निर्वाचनको काम यही आयोगले गरेको छ ।

त्यो आयोगको अध्यक्ष नेता विष्णुकरमार श्रेष्ठ हुनुहुन्छ । उहाँका अनुसार मुलुकभर माओवादी केन्द्रका सदस्य करिब ८ लाख छन् ।

त्यो आयोगका अनुसार सम्पन्न वडा अधिवेशनहरूबाट अधिकांश ठाउँमा सर्वसम्मतिबाटै नेतृत्व चयन गर्दै कार्यसमिति बनेका छन् । पालिकहरूबाट पनि त्यसैगरी त्यो तहका धेरै ठाउँमा सहमतिमा नेतृत्व चयन हुने अनुमान छ ।

नेकपा माओवादी केन्द्र वर्तमान गठबन्धन सरकारको बलियो सहभागी दल हो ।आगामी  पुस ११ देखि १३ सम्माम ओवादी केन्द्रको राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम छ।

राष्ट्रिय सम्मेलन अघि प्रदेश अधिवेशन गरिनेछ । केन्द्रको प्रदेश अधिवेशन यही मंसिर २५ सबै प्रदेशमा एकैपल्ट गर्ने निर्वाचन आयोगको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर