काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताउनुभएको छ । कांग्रेसले तीनै तहको निर्वाचन जित्न पार्टीको आगामी १४औँ महाधिवेशनको ठूलो भूमिका रहने उहाँले उल्लेख गर्नुभयो ।

कांग्रेसद्वारा आयोजित काठमाडौँ महानगरपालिका–४ र ५ द्वारा आयोजित छुट्टाछुट्टै वडा अधिवेशनको आज उद्घाटन समारोहमा सहमहामन्त्री महतले कांग्रेसको मुख्य लक्ष्य नै आगामी आम निर्वाचन जित्ने रहेको स्पष्ट पार्नुभयो । निर्वाचन जित्ने ढङ्गले सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले त्यसमा क्रियाशील सदस्यको अहम भूमिका रहने बताउनुभयो । पार्टीको आदर्श, सिद्धान्त, नीति र अनुशासनमा रही निरन्तर क्रियाशील रहन उहाँले सबैमा आग्रह गर्नुभयो ।

“पार्टीमा समय दिनसक्ने, सङ्गठन विस्तार गर्नसक्ने र मतदातालाई आकर्षित गर्नसक्ने कार्यकर्ताको खाँचो छ, सक्रिय सदस्य बन्नुभएका पार्टी कार्यकर्तालाई वडादेखि राष्ट्रिय तहसम्म पार्टीले सुम्पिएका जिम्मेवारी पूरा गरी पार्टीलाई जनतासँग जोड्ने प्रयासमा लाग्नुस्”, नेता महतले भन्नुभयो । कांग्रेसको नेतृत्वमा बनेको वर्तमान संविधानको भावना र मर्मअनुरुप एक तिहाइ स्थानमा महिला निर्वाचित गर्ने कामको थालनी भएको उहाँको भनाइ थियो ।

तिहाइको सरकार राज्य सञ्चालनमा असफल भएपछि अप्ठ्यारो अवस्थामा कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको स्पष्ट पार्दै नेता महतले प्रतिकूलतासँग जुध्दै सरकार सम्पूर्ण नागरिकलाई खोप दिएर सुरक्षाको प्रत्याभूति दिलाउन लागि परेको बताउनुभयो । कांग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले सोचेजस्तो नेपाली जनताको सेवा गर्दै समृद्ध र स्वाभिमानी बनाउने जिम्मेवारी पूरा गर्न पार्टीको १४औँ महाधिवेशनले महत्वपूर्ण योगदान पु¥याउने नेता महतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर