काठमाण्डौं, २५ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको वर्तमान नेतृत्व पूर्णतः असफल भएको बताउदै सोही कारण पार्टी मगन्ते अवस्थामा पुगेको बताउनुभएको छ ।
सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाप्रति संकेत गर्दै उहाँले यो तीखो आलोचनात्मक टिप्पणी आज सामाजिक संजालमार्फत् सार्वजनिक गर्नुभएको हो ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन आउँदो भदौमा गरिने भनिए पनि त्यो अनिश्चित देखिएको छ ।
यही साउन १२ बाट गरिने भनिएका स्थानिय अधिवेशन हुन सकेनन् । कतिपय जिल्लाका वडाहरूको क्रियाशील सदस्यता वितरणको टुंगोसमेत लाग्न सकेको छैन । अवस्था हसरल्ल छ ।
पार्टीका आन्तरिक समस्या समाधान गरेर महाधिवेशन समयमै गराउनुको सट्टा यता महधिवेशनको समय सार्न सभापति र महामन्त्रीको मिलोमतोमा निर्वाचन आयोगमा छलफल भएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दलको संघीय तहमा रहने केन्द्रीय समिति तथा प्रदेश तहमा रहने प्रदेश समितिमा प्रत्येक पदाधिकारीको निर्वाचन प्रत्येक पाँच वर्षमा कम्तीमा एकपटक हुनैपर्छ । पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने म्याद कांग्रेसको म्याद गत फागुन १९ मै सकिएको छ ।
तर, सोही ऐनमा जरिवाना तिरेर ६ महिना पुन म्याद सार्न सकिने व्यवस्था पनि छ । सो अनुसार निर्वाचन आयोगले ५० हजार जरिवाना लिएर समय सकिएपछिको महाधिवेशन गर्न ६ महिनाको म्याद थपको आदेश दिन सक्छ ।
देउवा ऐनको त्यही प्रवधान अनुसार समय सार्न खोज्दै हुनुहुहुन्छ ।
यता महामन्त्री कोइरालले त महाधिवेशन भदौमा गर्न सम्भव नदेखिएको कुरा सार्वजनिक रूपमा बताइसक्नुभएको छ ।
पौडेलले पार्टीको महाधिवेशन यथा समयै गर्नु पर्ने र त्यसको कुनै विकल्प नरहेको बताउँदै आउनुभएको छ ।
यही सन्दर्भ स्पष्ट पार्दै पौडेलले सामाजिक संजालमा उल्लेख गर्नुभएको छ : पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।
उहाँका अनुसार, वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही यहाँ भन्दा अरु हुन सक्तैन । यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।