काठमाडौँ, १६ कात्तिक : जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाले राजदूतको संसदीय सुनुवाइ तथा नियुक्ति प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिनुभएको छ ।
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको आजको बैठकमा सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत थापाले समितिलाई सम्बोधन गरी पठाउनुभएको पत्रमा उहाँले नाम फिर्ता लिएको विषयबारे जानकारी गराउनुभएको थियो ।
उक्त देशमा राजदूत नियुक्ति भएर जाँदा स्वार्थ बाझिने विषय संसदीय सुनुवाइ समितिमा उठेपछि थापाले आफ्नो नाम फिर्ता लिनुभएको हो । गत असोज २८ गते उहाँको संसदीय सुनुवाइ भएकामा त्यस अवसरमा समिति सदस्यहरुले स्वार्थ बाझिने विषयमा प्रश्न उठाउनुभएको थियो ।
सभापति श्रेष्ठले उच्च नैतिकता प्रदर्शन गर्दै नाम फिर्ता लिएको भनी समितिका तर्फबाट प्रस्तावित राजदूत थापाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
