मस्को, ६ कात्तिक । रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ताको अर्को चरण अबु धाबीमा आयोजना गर्ने योजना रहेको बताउनुभएको हो ।
यस साता सेन्ट पिटर्सबर्गमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच भएको भेटवार्तापछि वार्ता प्रक्रिया पुनः सुरु गर्ने सम्भावना बढेको हो । वर्षको सुरुदेखि अवरुद्ध रहँदै आएको वार्तालाई अघि बढाउन रुसले पनि तत्परता देखाएको छ ।
पेस्कोभका अनुसार वार्ता मध्य नोभेम्बरमा हुने योजना छ र त्यसमा रुस, युक्रेन तथा अमेरिकाको सहभागिता रहनेछ । रुसले नोभेम्बर १० आसपास वार्ता हुन सक्ने सङ्केत गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र पारिरहेका बेला यो घोषणा आएको हो । अमेरिकी विशेष दूत विटकफले पुटिनसँग भेट गर्नुअघि मङ्गलबार नर्वेको ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग छलफल गर्नुभएको थियो ।
यी भेटवार्तापछि किएभ र मस्को दुवैले अमेरिकी मध्यस्थतामा प्रत्यक्ष वार्ता पुनः सुरु गर्न आफूहरू तयार रहेको सङ्केत दिएका छन् ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि जारी युद्ध पाँचौँ वर्षतर्फ अघि बढिरहेको छ । युद्ध अन्त्य गर्ने उद्देश्यले हुन लागेको सम्भावित वार्तालाई महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ ।
यद्यपि, वार्ता कहिले सुरु हुने भन्ने विषयमा दुवै पक्षको प्राथमिकतामा केही भिन्नता देखिएको छ । रुसले नोभेम्बरको दोस्रो सातालाई सम्भावित समयका रूपमा अघि सारेको छ भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ता जतिसक्दो चाँडो हुनुपर्नेमा जोड दिनुभएको छ ।
यसैबीच, बिहीबार राति प्रसारित एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति पुटिनले सम्भावित त्रिपक्षीय वार्ता छोटो अवधिको युद्धविराममा मात्र केन्द्रित नहुने बताउनुभएको छ । उहाँका अनुसार छलफलको मुख्य विषय अन्तिम शान्ति सम्झौतासँग सम्बन्धित सुरक्षा व्यवस्थाहरू हुनेछन् ।
–––
