काठमाडौं, १२ असार । सर्लाहीको ईश्वरपुर नगरपालिका ३ का वडा अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ ।
वडाध्यक्ष श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेमराज दाहाल छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
नगरपालिकाको बजेटबाट मुखलाल दास पोखरीको सौन्दर्यीकरणको काम भइरहेको छ । पोखरीको काम हेर्न भनेर वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल पनि गएका थिए । त्यही क्रममा सामान्य विवादमा एक्स्काभेटर चालकले श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरेको एसपी सन्तोषसिंह राठोरको भनाइ छ ।
घटनापछि वडा अध्यक्ष श्रेष्ठलाई त्यही पुरेर दुई जना फरार भएका थिए । प्रहरीलाई खबर प्राप्त भएलगत्तै घटनास्थल पुगेर शव गाडेको ठाउँबाट शव निकालिएको प्रहरी उपरीक्षक राठौरले बताए ।