झापा, ११ असार । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको आज यहाँ कोरोनाबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उहाँलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः०० बजे उहाँको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो । उहाँका पत्नी राधा थापासमेत कोरोना सङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहाँका दुई छोरी र एक छोरा अमेरिकामा हुनुहुन्छ ।

छोरीहरु बिहीबार काठमाडौँ आइपुग्नुभएको र छोरा शनिबार आइपुग्ने उहाँका छिमेकी तथा पत्रकार सचिन सुब्बा याक्सोले बताउनुभयो । विसं २०६२÷६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर