काठमाण्डौं, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं महाधिवेशन आज शुक्रबारबाट सुरु भएको छ । सो पार्टीका अध्यक्ष एवं भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  भर्खर मध्यान्हमा महाधिवेशनको उद्घाटन गर्नुभयो ।

महाधिवेशनको यो उद्घाटन समारोह चितवनको नारायणी नदी किनारमा भैरहेको छ । बन्द सत्र भने भोलि ११ र पर्सी १२ गते चितवनकै पर्यटकीय क्षेत्र सौराहमा हुनेछ ।

उद्घाटन समारोह सुरु हुनु अघि चितवनको विभिन्न ठाउँबाट बाजागाजा र झाँकी सहितका जुलुसले भरतपुर र नारायणघाट बजार परिक्रमा गरेका थिए । त्यसरी नै अन्य जिल्लाबाट आएका सहभागीहरू पनि जुलुससहित समारोह स्थलमा पुगेका थिए ।

समारोहमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया लगायताका देशबाट पाहुना प्रतिनिधि सहभागी भएका छन् ।

महिधिवेशनमा सो पार्टीका देशभरबाट दुइ हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुँदैछन् ।

महाधिवेशनको उद्घाटन समारोहमा अतिथिको रूपमा नेपालका विभिन्न पार्टीका नेताहरूलाई बोलाइएको छ । नेताहरूले आजको समारोहमा शुभकामना मन्तव्य राख्नुहुने छ ।

नेपाली काँग्रेसका तर्फबाट सो पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समारोहमा उपस्थित हुनुभएको छ ।

एमालेले विधान अधिवेशन पहिलेनै काठमाण्डौंमा गरिसकेकोले यो महाधिवेशन पार्टीको नीति र कार्यक्रम भन्दा चुनाव र नेतृत्व चयनमा केन्द्रित हुने देखिएको छ । यसै महाधिवेशनले सो पार्टीको आगामी पाँच वर्षको लागि केन्द्रिय नेतृत्वको चयन गर्नेछ ।

पार्टीको अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई नै पुन सर्वसम्मत बनाउने प्रयस गरिएको छ ।तर यता नेता भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर