काठमाण्डौं, १७ भदौ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले १४औं महाधिवेशनमा आपसी सहमतिमा सभापतिको उम्मेदवार बनाउने र त्यसलाई सबैको समर्थन रहने जनाएको छ । वडा अधिवेशनको अघिल्लो दिन यो पक्षका सभापतिका आकांक्षीहरुले संयुक्त पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् ।

यो पक्षबाट सभापतिको उम्मेदवारी दावी गर्नेहरूमा एक नम्बरमा रामचन्द्र पौडेल र त्यसपछि शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह छन् । नेताहरू आजै सहमतिमा सभापतिको एक जना उम्मेदवारको नाम घोषणा गर्ने प्रयासमा थिए । त्यो हुन नसकेपछि एकताको बाचा कबूल गरेका हुन् ।

यी नेताहरूबीच बितेका २/४ दिन यता बाक्लै वार्ता भए थिए । कहिले बोहोराटार, कहिले चक्सीबारी कहिले पार्टी प्यालेसमा बैठक भए । तर कुनै एकको नाममा पनि सहमति भने जुट्न सकेन र नै आज सहमतिको नाम सार्वजनिक हुन नसकेको हो ।

पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सबै उपस्थित थिए । तर पौडेल वहेक यी अन्यले केही बोल्नुभएन ।

सभापतिका सबै आकांक्षीकासाथ रामचन्द्र पौडेलले सो पत्रकार सम्मेलनमा बताउनुभयो :‘पार्टी बचाउन एक भएर अगाडि बढ्छौं । सभापतिमा एउटै उम्मेदवार दिन्छौं । त्यसनिम्ति कसलाई के जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर हामीहरुबीच यसबारे छलफल र सल्लाह भैरहेछ । छिटै सहमतिमा पुगेर निर्णय गर्छौं । ’

सो पत्रकार सम्मेलनमा सिटौला पक्षका गगन थापाको पनि उपस्थिति थियो । थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर