भक्तपुर, ३० असार । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको बताउनुभएको छ ।
आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुग्नुभएका अध्यक्ष ओलीले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै नेता नेपाललाई पार्टीमा अब कुनै ठाउँ नरहेको घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो, “माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन, उहाँका हकमा गल्ती कमजोरी स्वीकार गर्ने र आत्मालोचना गर्ने पनि ठाउँ छैन, नेपालका पछाडि लाग्ने अरु व्यक्तिले कमीकमजोरी महसुस गरेर पार्टीको काम गर्न चाहेमा भने पार्टीले ठाउँ दिन्छ ।”
अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीँ नभएको जात्रा देखाएको छ भन्दै उहाँले जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको नजिर कायम गरियो बताउनुभयो । उहाँले भन्नुभयो, “जनादेशबाट होइन परमादेशबाट, काम गर्न नसकेर होइन, देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर हटाइयो ।”
अध्यक्ष ओलीले सबैलाई पुग्ने खोपको व्यवस्था आफनो नेतृत्वको सरकारले गरिसकेकाले कसैलाई खोपको कमी नहुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था गरिसकेका छौँ । खोपको कुनै कमी छैन, मैले हिजो नै भनेको थिए, खोपको व्यवस्था मैले गरिसकेको छु, विभिन्न देशबाट छिट्टै खोप आउँछ तर मैले खोप ल्याएँ भनेर कसैले भन्छ भने त्यो लाजमर्दो हुन्छ ।”