काठमाडौँ, २८ जेठ ।  ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म दश प्रकारका पाप नाश होस् भनी गरिने गङ्गादशहरा स्नान आजदेखि शुरु भएको छ ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी, वाग्मती, देवघाट, त्रिवेणीलगायत स्थानका तीर्थ स्थलमा स्नान गरेमा दश जन्मदेखिका पाप नाश हुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल दशमीका दिन स्वर्गबाट पृथ्वीमा  गङ्गा अवतरण  भएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल दशमीका दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा १० प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पु¥याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्नेजस्ता पाप दशहराका दिन गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि स्नान मेला लागेको  छ ।

पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशानुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पापमोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पापमोचन भएको थिएन । पापमोचनस्वरुप परशुरामकी आमा रेणुकाले पुनर्जीवनसमेत पाएको पौराणिक कथन छ । दशहराका दश दिने अवधिमा जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्रलगायत दश योग पर्ने गरेको छ ।

पौराणिककालमा यही दश दिन लगाएर स्वर्गबाट गङ्गा पृथ्वीमा अवतरण भएको शास्त्रीय मान्यता छ । गङ्गा किनारस्थित भारतको काशीको दशाश्वमेधघाट पनि यो दश दिने अवधिमा विशेष मेला लाग्छ । यसैगरी त्रेतायुगमा भगवान् रामले सेतुबन्धमा स्थापना गरेको रामेश्वरघाटमा यस अवसरमा मेला लाग्ने गर्छ । यी तीर्थमा स्थान गरी भगवान्को दर्शन गरेमा दश प्रकारको पाप नाश हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर