काठमाडौँ, १४ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका निम्ति निर्धारित आर्थिक वृद्धिको लक्ष्य कोभिड महामारीका कारण हासिल गर्न कठिन हुने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज अपराह्न आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उहाँले चालु आवमा आर्थिक वृद्धिसमेत हासिल गर्न चुनौतीपूर्ण भएको बताउनुभयो । सरकारले चालु आवको बजेट सार्वजनिक गर्दा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो भने कोरोना महामारीका कारण त्यसलाई संशोधन गर्दै ४.०१ प्रतिशत रहने अनुमान गरेको थियो ।
कोरोना महामारीको दोस्रो लहरका कारण देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएपछि संशोधित ४.०१ प्रतिशतको प्रक्षेपण पनि प्राप्त गर्न नसकिने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । यद्यपि उहाँले कोभिड महामारीको प्रतिकूलावस्थामा पनि अधिकांश समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहेको जानकारी दिनुभयो । राष्ट्रिय लगानीमा विस्तार भएको, वित्तीय पहुँच, पूँजी बजार र बीमाको दायरा फराकिलो भएको, समग्र शोधनान्तर स्थिति बचतमा रहेको तथा विप्रेषण आप्रवाह र विदेशी विनिमय सञ्चिति वृद्धि भएको अर्थमन्त्रीले बताउनुभयो ।
यस्तै राष्ट्रिय आय एक हजार १९६ अमेरिकी डलर पुगेको समेत अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो । त्यसैगरी राष्ट्रिय खर्च योग्य आम्दानी एक हजार ४८६ डलर पुगेको छ । मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको छ । आयात–निर्यातको अवस्था सन्तुलनमा रहेको छ । सो अवसरमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले निषेधाज्ञाअघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो भए पनि पछिल्लो दिनको कोरोनाको दोस्रो लहरका कारण समस्या पैदा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आवको बजेटको मध्यावधि समीक्षामा करीब पाँच प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेका थियौँ, तर कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपर्दा अर्थतन्त्रमा सङ्कुचन आएको छ ।” –––
––
