धुलिखेल, २३ फागुन । काभ्रेपलाञ्चोकको पनौतीमा फागु पूर्णिमाको अवसरमा सङ्कटा जात्रा मनाइएको छ ।
यो जात्रा खासगरी यस क्षेत्रमा बसोबास गर्ने आचार्य र प्रधान समुदायका मानिसले मनाउँछन् ।

जात्रा फागु पूर्णिमाको दिन बिहानै पनौतीको सङ्कटा मन्दिरबाट सुरु भई विभिन्न मठमन्दिरको बाजागाजासहित परिक्रमा गरी पुनःसोही मन्दिर पुगी प्रसाद वितरणपछि समापन हुन्छ । पौराणिककालदेखि नै मनाइने भएपछि केही समय मनाउन छाडिएको यो जात्रा २०६७ सालदेखि स्थानीय युवा र भिन्तुना ग्रुपको सक्रियतामा फेरि सुरु भएको जात्रा व्यवस्थापन समितिका सदस्य रोशनकुमार श्रेष्ठले बताउनुभयो । मन्दिरमा आचाजु अर्थात कर्माचार्यद्वारा पुजाआराधाना हुँदै आएको छ ।

पारिवारिक सुख शान्ति र सम्वृद्धिको कामनाका साथै मेलमिलाप र सङ्कट मोचनको कामना गदै जात्रा मनाउने चलन छ । सङ्कटा जात्रामा एकआपसमा अबीर लगाएर खुसी साटासाट गरी होली पर्व मानाइन्छ । जात्रालाई अबीर जात्रासमेत भनिने समितिका संयोजक विक्रम प्रजापतीको भनाइ छ ।

विगतमा जस्तै यसवर्ष पनि रातो पहिरनमा सजिएका महिलाले पुजा सामग्रीसहित जात्रायात्रा र पूजाआराधाना गरेका छन् । जात्राको मुख्य पूजारीमा सत्यनारायण कर्माचार्य रहनुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर