–हुतमणि अधिकारी

सर्वोच्च अदालतको फैसला पछि बिकसित भएको राजनीतिक घटनाक्रमले देशको सत्ता राजनीति काङ्ग्रेस र काङ्ग्रेस सभापति देउवाको वरिपरि घुम्न थालेको छ। राजनीतिमा हरेक संभावना हुने रहेछ, अहिले हुन्छ भनेको कुरा भोलि नहुन पनि सक्छ, हुँदैन भनेको कुरा भएरै छाड्न पनि सक्छ । कानूनी जटिलतामा जेलिएको नेकपाको फुट र एकताले जुनसुकै बेला नाटकीय रुप लिन सक्छ । तथापि अहिले सरसर्ती हेर्दा प्रतिनिधि सभा पुनस्थापना पछि सरकार बिघटन र गठन सम्बन्धित उत्पन्न अन्योल र अनिश्चितता चिर्न काङ्ग्रेस र सभापति देउवाको भूमिका निर्णायक हुने देखिन्छ । यही तथ्य बुझेर नेकपाका दुबै गुट देउवालाई फकाउन, रिझाउन पुगेका छन् । एउटा गुटले अर्कोलाई भित्तामा पुर्‍याउन , सके समाप्त गर्न नभए धुलोमै मिलाउन मोर्चा कसिरहेकाछन्, दाउपेच खेलिरहेका छन् । सत्ताको किस्ती बोकेर सभापति देउवासित सहयोग याचना गरिरहेका छन्, सत्ताको चाबी बुझिदिन अनुरोध बिसाएका छन् ।

यस्तो परिस्थितिमा काङ्ग्रेस र देशको भलाइ र भविष्य केमा छ, कसो गर्दा काङ्ग्रेस गहकिलो र चहकिलो हुन सक्छ भन्नेमा मुख्य नेताहरू सोच्दै हुनन्, पार्टीमा छलफल गर्दै, सल्लाह लिँदै हुनन् । नेकपा भित्रको परिदृश्य प्रष्ट नदेखिँदै हतारमा निर्णय लिन उपयुक्त हुँदैन भन्ने भलिभाँति बुझेका काङ्ग्रेस जनले केही समय पर्खन र नेकपाका दुई फरक गुटका निर्णय र कदमको  आकार, प्रकार, कानूनी हैसियत, दृढता, परिपक्वता हेरी उपयुक्त समयमा उपयुक्त निर्णय लिने नै छ  ।

सबैको नजर अहिले देउवातिरै छ तर देउवालाई  सजिलो छैन । उहाँका लागि अप्ठ्यारो र असहजता बाहिरी पक्ष र तत्वबाट भन्दा पार्टी भित्रका स्थायी प्रतिपक्षी इतर समूहका नेताहरुबाट सिर्जना हुने देखिएको छ। उहाँसँग असहमत पक्ष अहिले नै सर्वेसर्वा देउवा सरकारमा बसेर महाधिवेशन गराउँदा झन् शक्तिशाली हुने भयले झस्किएका र उतर्सिएका छन् । पार्टीलाई हुने नाफाघाटा भन्दा व्यक्तिगत रुपमा आफु र आफ्नो गुटलाई हुन सक्ने नाफाघाटाको हरहिसाबमा व्यस्त रहँदै देउवाको महत्त्व, प्रभाव, शक्ति बढ्ने कुनै पनि परिस्थिति सिर्जना नहोस् भन्ने तर्फ सजग, सचेत देखिन्छन् ।

हुन पनि काङ्ग्रेसमा महाधिवेशन नजिकै आइसकेको छ। पछिल्लोपटक तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता पनि काङ्ग्रेस सामु खडा छ। अब कुनै निहुँमा महाधिवेशन रोकिन हुँदैन, निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न सबै इमानदारीपूर्वक लाग्नुपर्छ, यसमा छलछाम गर्न हुँदैन, पाइँदैन । पार्टी भित्रको लोकतान्त्रिक पद्धतिका प्रति सबैको प्राथमिकता र प्रतिबद्धता चाहिन्छ नै ।

यस्तैमा थरि थरि गुट उपगुटमा बाँडिएका नेता तथा तिनका कार्यकर्ताहरुलाई महाधिवेशनको रन्को लागि सकेको छ। गुटगत कार्यक्रम, क्रियाकलाप र गतिविधि बढ्दै गएको छ। देउवाको पकडमा पुगेको पार्टीसत्ता त्यहाँबाट फुत्काउन असहमत पक्षका नेताहरू न्वारान देखिको बल लगाइरहेका छन् । त्यसका लागि कुनै कसर बाँकी नराख्ने हिसाबले अगाडि बढ्दै छन् । पार्टी सरकारमा गए  वा देउवा प्रधानमन्त्री बनेमा उहाँ नै फेरि अर्को कार्यकाल पनि सभापति बन्ने र पार्टी पुन: उहाँकै बहुमतको प्रभावमा जाने डर ती नेताहरुमा छ। देउवा प्रधानमन्त्री बन्न सक्ने परिस्थिति सिर्जना हुन लागेकाले उनी बिरोधी खेमामा एक किसिमको आतंक छाएको अनुभव हुन्छ ।  यसर्थ पनि उनीहरु छटपटाएका, अत्तालिएका  र जे जसरी भए पनि देउवालाई रोक्नुपर्छ भन्ने मनोविज्ञानको उग्र मानसिकतामा छन् ।

मुलुक संवैधानिक जटिलता एवं राजनीतिक गोलचक्करमा फसेको यतिबेला संविधान र व्यवस्था रक्षाको ऐतिहासिक जिम्मेवारी काङ्ग्रेसले नै वहन गर्नुपर्ने अवस्था आइपरेको छ। कथं नेकपा औपचारिक र कानूनी रुपमा फुटेर नयाँ सरकार गठनमा राजनीतिको गाँठो फुक्न सकेन भने काङ्ग्रेस सो गाँठो फुकाउन अगाडि आउनु पर्ने हुन सक्छ । संभावना बलियो देखिँदैछ – काङ्ग्रेसले सरकारको नेतृत्व गर्ने अबस्था अउन सक्छ ।

तर जबर्जस्त रुपमा अहिले विषयको उठान भएको छ, विषयलाई उछालिएको छ । पार्टीका एक थरि नेताहरू काङ्ग्रेस किमार्थ सरकारमा जान हुन्न, तत्काल मध्यावधि निर्वाचनमा पनि जान हुँदैन, अघिल्लो निर्वाचनको म्यान्डेट अनुरुप पाँचै बर्ष प्रतिपक्षमा बस्नुपर्छ, विकसित घटना र परिस्थितिमा पार्टीले सत्ता साझेदारी गरे पनि देउवा चाहिँ नैतिक रुपले पनि प्रधानमन्त्री बन्न हुँदैन, अरु जुनियर नेतालाई सरकारमा पठाउनुपर्छ भन्दै छन् । ती नेताको धारणा छ :  अबको डेढ दुई बर्ष सरकार बाहिर बसेर कम्युनिस्टको कुनै गुटलाई समर्थन गर्नुपर्छ, कम्युनिस्टहरूलाई असफल र अयोग्य सावित गर्न पनि काङ्ग्रेस सरकारमा जान हुन्न, आगामी निर्वाचन जितेर मात्र सरकार बनाउनुपर्छ ।

अहिले काङ्ग्रेस सरकारमा जान हुँदैन भन्ने विभिन्न तर्क र पात्र खडा गरेर देउवालाई थप शक्तिशाली बन्नबाट रोक्न नियोजित हिसाबको मिडियाबाजी हुन थालेको छ। पार्टी भित्र आफुलाई सेलिब्रेटी र ठूलो नेता ठान्नेहरु यस्तो सन्देश र विचार फैलाउन नाइटो देखिको बल लगाएर मैदानमा उत्रिएका छन् । यो सरासर महाधिवेशन केन्द्रित, गुट स्वार्थ प्रेरित राजनीति हो, सभापति देउवा समूह बिरुद्ध रचिएको महाधिवेशन- रणनीति हो ।

पार्टीका केन्द्रीय तथा जिम्मेवार नेतृत्व वर्गले प्रत्येक क्षण बदलिइरहेको र नयाँ नयाँ संभावना प्रकट भइरहेको नेकपा भित्रको शक्ति संघर्ष, देशको राजनीतिक परिदृश्यको सुक्ष्म अवलोकन, अध्ययन विश्लेषण गरी सुझबुझ, गम्भीरता, परिपक्वता र धैर्य पूर्वक निर्णय लिनुपर्छ । अहिले तुरुन्तै हतारिन र चटारिन आवस्यक छैन । विगतका कमी कमजोरी र नियतिबाट मुक्त हुन पार्टी भित्रको विश्वास, एकता, सम्मान र समन्वयलाई मजबुत बनाउने तर्फ लाग्नुपर्छ ।

काङ्ग्रेसको विफलता र पराजयको बीज बाहिर होइन काङ्ग्रेस भित्रै छ, कारण र परिणामको आँकलन – मूल्यांकन गरी काङ्ग्रेसलाई अब साँच्चिकै नेपाली राजनीतिको मियो बनाउन आन्तरिक समस्या र बिषयलाई उचित व्यवस्थापन गर्नुपर्छ। अन्यथा नेकपामा देखिएको रोगले काङ्ग्रेसलाई पनि गाँजेरै छाड्नेछ। पार्टीमा विधि, पद्धति, अनुशासन, एकता, सहिष्णुता, सद्भाव, समन्वय र सहकार्य भएन भने पार्टी अहिले नेकपा जस्तो निषेध, विग्रह र फुटको संघारमा पुग्छ। काङ्ग्रेसीहरुलाई बेलैमा चेतना होस् ।
(लेखक – नेपाली काङ्ग्रेस संघीय मामिला तथा प्रदेश समन्वय विभाग सदस्य हुनुहुन्छ )

प्रतिक्रिया

सम्बन्धित खवर