काठमाडौँ, १२ फागुन । सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न आज अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने काम तत्काल नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा आजै पूजाआरधाना गरी १०८ किलोको सुनको जलहरी अनावरण गर्नुभएको थियो ।

प्राणप्रतिष्ठासहितको पूजा एवं अनावरणपछि पशुपतिनाथका मूलभट्टसहित भट्टहरुले ज्योतिर्लिङ्गमुनि सुनको पीठिका स्थापना गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले  जानकारी दिनुभयो । ज्योतिर्लिङ्ग भएका स्थानमा पशुपतिनाथका पुजारीबाहेक अरुले छुन नपाउने विधि छ । विसं १८३८ मा रणबहादुर शाहका पालामा माघ शुक्ल पञ्चमीका दिन राखिएको चाँदीको पीठिका जीर्ण भएपछि २०२४ साल माघ शुक्ल पञ्चमीकै दिन मर्मत गरिएको अभिलेख पशुपतिमा रहेको पनि उहाँले जानकारी दिनुभयो । विसं २०२४ मा चाँदीको पीठिकामा गरिएको मर्मत फेरि जीर्ण भएपछि सुनको पीठिका निर्माण गरिएको कोषले जनाएको छ ।

सुनको पीठिका स्थापना गर्नुअघि गत शनिबारदेखि पशुपतिनाथ मूल मन्दिरमा १२५ ब्राह्मणले क्षमा  पूजागरे,  २५ ब्राह्मण दक्षिण भारतबाट ल्याइएको थियो । सो अवसरमा रुद्राभिषेक, चार वेद र शिवपुराण पाठपारायण एवं वास्तु र तन्त्र विधिबाट समेत पूजा आराधना गरिएको पनि उहाँले बताउनुभयो । सोक्रममा राष्ट्रपति भण्डारीले दक्षिण भारतबाट विशेष निमन्त्रणा गरिएका पाँच ब्राह्मणबाट गरिएको शान्तिपाठ श्रवण गर्नुभएको कोषले जनाएको छ ।

आदेशमा भनिएको छ, “पशुपतिनाथ मन्दिरको महत्व, संवेदनशीलता र प्राचीन स्मारक संरक्षण ऐन २०१३ को कानूनी व्यवस्थाको सन्दर्भमा सुविधा सन्तुलनको दृष्टिकोणबाट छलफलको टुङ्गो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु÷नगराउनु ।”

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष, पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्, गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई छुट्टाछुट्ट दुई रिट निवेदन दायर गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर