काठमाडौँ, ६ मङ्सिर । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा मार्ग शीर्ष कृष्ण तृतीयाका दिन आज अमालकोट कचहरीका द्वारेले सिन्दुर चढाएपछि सम्पन्न भएको छ ।

कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा आज श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि सकिएको हो ।
जात्रा करिब साढे ३०० वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुुरुआत गराएको स्थानीयवासीको भनाइ छ ।

जात्रा सफलतापूर्वक समापन भएको खुसियालीमा आज दिनभर चाबहिल क्षेत्रमा सिन्दुर जात्रा गरिन्छ । जात्रा कार्तिक शुक्ल पूर्णिमाका दिन गत शुक्रबारदेखि चाबहिल क्षेत्रमा सुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयबागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ ।

जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मूल मन्दिर पनि घुमाइन्छ ।

पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले शुक्रबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । पूर्णिमाका दिन बेलुकी शुक्रबार मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।

यसैगरी मार्गशीर्ष कृष्ण प्रतिपदाका दिन श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गँगाहिटीमा लगेर स्नान गराउने विधि छ । स्नानपछि दुवै खटलाई शनिबार बेलुकी चारुमती बिहारमा लगेर बिसाइएको थियो ।

मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् आइतबार दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराइयो । दर्शनपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिनुभयो । यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वका साथ मनाइन्छ ।

गत वर्ष कोरोना महामारीको सङ्क्रमण तीव्र रहेकाले जात्राको विधिमात्र पूरा गरिएको थियो । गुठियारलाई भौतिकरुपमा जात्रा गर्न दिइएको थिएन । यस वर्ष भने जोखिम कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर जात्रा सम्पन्न गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर