अमेरिका, ७ फागुन । अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ ।
नेपाली समयानुसार शुक्रवार बिहान करिब २.४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो।
सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए ।
हामीले गर्यौँ। हामी त्यहाँ पुग्यौँ, उनीहरू खुसी हुँदै चिच्याइरहेका थिए । त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो ।
सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छ,छैन भनेर हेरिने छ ।
उक्त रोभरले रातभर आफ्नो ब्याट्री चार्ज गर्ने छ ।
यदि उचित वातवारण पाए जीवन ब्युँतिन्छ कि भन्ने प्रश्नको जवाफ खोजिनेछ ।
यो सन् १९७०को दशकको भाइकीङ् मिसनपछि मङ्गलग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो ।
एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ ।
छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो ।
मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो ।
हेलिकप्टरबाट अध्ययन
पर्सिभिअरन्समा राखिएको इन्जेन्युइटी नाम दिइएको हेलिकप्टरलाई भोलिबाट चलाइने वरिष्ठ वैज्ञानिक तथा हेलिकप्टर परियोजनाकी संयोजक मीमी अङ्गले बताइन ।
आगामी ३० दिनमा पाँच वटा उडान भर्ने मिशन तय गरिएको र त्यसले सम्भवतः मङ्गल ग्रहको सतहको उच्च गुणस्तरको तस्बिर उपलब्ध गराउने ठानिएको छ ।
एउटा ग्रहमा बसेर अर्कोमा उडान गरिने यो पहिलो फ्लाइट हो ।
अर्बौँ वर्ष अघि मङ्गल ग्रहको जेजेरो भनिने स्थानमा एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ ।
पर्सिभिअरन्स रोभर जेजेरो क्रेटरमा नै अवतरण गरेको हो ।
हालसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन् । ती सबै अमेरिकी अभियान हुन् ।
अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा विफल भएको छ ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर