काठमाडौँ, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारीरुपमा कदम चाल्न आवश्यक रहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण प्रभावकारीरुपमा हुन सकेन भने राज्यका स्रोत दुरुपयोग गरी समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्रष्टाचार नियन्त्रण गर्न कडाइका साथ प्रस्तुत हुन जरुरी देखिएको बताउनुभयो । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउनेलाई कारवाहीको दायरामा ल्याउन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै पहिचान गरी उचित दण्ड दिनसके मात्र सुशासन कायम हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।
आयोगमा सरकारको हस्तक्षेप हुन्न – प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ । अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउनु रहेकाले सरकारले उक्त कार्यमा सहयोग गर्ने उहाँले बताउनुभयो । “कतिपय व्यक्तिमा सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम छ, त्यो होइन र हुँदैन ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
संविधान र जनतालाई शिरमा राखेर अगाडि बढ्न सुझाव दिँदै उहाँले भ्रष्टाचारी जोसुकै भए पनि दण्डित गर्न आग्रह गर्नुभयो । सरकारले अख्तियारको कामका कुनै अवरोध नगर्ने उहाँले प्रष्ट पार्नुभयो । अख्तियार स्वतन्त्र रहेको र उसको काममा सरकारले हस्तक्षेप नगर्ने उहाँले उल्लेख गर्नुभयो । भ्रष्टाचार नगर्नेलाई पनि हिलो छ्याप्नैपर्ने प्रवृत्ति देखिएको भन्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।
अख्तियारको काम सन्तोषजनक रहेको भन्दै उहाँले सरकार भ्रष्टाचार नियन्त्रणका प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशील छ भन्ने कुराको पुष्टि व्यवहारबाटै प्रष्ट हुने बताउनुभयो । भ्रष्टाचारसम्बन्धी समाचार लेख्दा सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । “सञ्चारमाध्यम यथार्थ कुरा सूचित गर्न सक्रिय रहनुपर्छ”, प्रधानमन्त्री ओलीले सुझाव दिनुभयो, “भ्रष्टबाहेक यो देशमा जन्मिदैनन् भन्ने पार्न खोजिँदै छ, यो ठीक होइन ।”
भ्रष्टाचार निवारणका लागि स्पष्ट कानूनी व्यवस्था आवश्यक भएको उहाँको भनाइ थियो । “ संवैधानिक निकाय उत्तरदायित्व बोकेको गम्भीर संस्था हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “कानूनको नजरमा सबै बराबर हुन् भन्ने ढङ्गले काम गर्नुपर्छ ।” निर्दोषलाई कुनै पनि हालतमा दोषी बनाउन नहुने भन्दै उहाँले हचुवा तालले मुद्दा दायर नगर्न सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले आयोगको कामप्रति आफू सन्तुष्ट रहेको उल्लेख गर्नुभयो ।
“भ्रष्टाचार सबैको साझा शत्रु हो भन्ने कुरा व्यवहारमा उतार्नु जरुरी छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । हरेक व्यक्तिले आफूलाई भ्रष्टाचारबाट मुक्त पार्न जरुरी रहेको भन्दै उहाँले भ्रष्टाचार गर्ने अवसर कसैले पनि पाउन नहुने बताउनुभयो । “भ्रष्टलाई सजाय दिनैपर्छ । यसमा सबैले सहयोग गरौँ”, उहाँले भन्नुभयो । सरकारले पछिल्लो समय भ्रष्टाचार निवारणका लागि नागरिक एप्स ल्याएको उहाँको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण सबैको साझा मुद्दा भएकाले धाक लगाउने र तर्साउनेदेखि नडराउन आयोगलाई सुझाव दिनुभयो । उहाँले आयोगका पदाधिकारीलाई निडर भएर काम गर्न आग्रह गर्नुभयो । “भ्रष्ट्रचार नियन्त्रणका लागि सिङ्गो समाजको साथ आवश्यक छ”, उहाँले भन्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक क्षेत्रमा हुने अनियमितता, घुसखोरी र बिचौलिया धन्दा रोक्न सुक्ष्म निगरानी बढाइने बताउनुभयो । अनियमितता गर्नेलाई कारवाहीको दायरामा लैजान आयोग सक्रिय हुने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “जनताले पाउनुपर्ने स्वास्थ्य सेवा, कृषि तथा पशु सेवा, कृषि अनुदान र मलखाद, नागरिकता तथा राहदानी, विभिन्न प्रकारका सिफारिस, सवारी चालक अनुमतिपत्र, मालपोत तथा जग्गा रजिस्ट्रेसन, श्रम स्वीकृतिलगायत क्षेत्रमा हुने घुसखोरी, बिचौलिया धन्दा रोक्न सुक्ष्म निगरानी बढाउँछौँ । गलत कार्य एवं अनियमिततालाई कारवाहीको दायरामा लैजाने विषय आयोगको उच्च प्राथमिकतामा रहन्छ ।”