इजरेल, १० असार । इजरेल र इरानबीच युद्धविराम लागु भएको भनिएको केही घण्टा नबित्दै त्यसको दिगोपनालाई लिएर अन्योल उत्पन्न भएको छ।

इजरेली रक्षामन्त्रीले इरानले युद्धविराम उल्लङ्घन गरेको भन्दै त्यसका विरुद्ध कडा प्रतिवाद गर्न सेनालाई आदेश दिएको बताएका छन्।

रक्षामन्त्री इजरेल काट्जले एक विज्ञप्ति जारी गर्दै इरानले गरेको युद्धविराम उल्लङ्घनको विरुद्ध तेहरानको मुटुमा रहेका निसानाहरूमा सघन प्रहार गरेर कडा प्रतिवाद गर्न आफूले आदेश दिएको बताएका छन्।

ुयसअघि बोल्दै इरानका विदेशमन्त्रीले इजरेलले आक्रमण बन्द गरेमा मात्र आफूहरूले युद्धविराम गर्ने बताएका थिए।

इरानबाट क्षेप्यास्त्र प्रहार भएको पत्ता लागेको केही क्षणमै इजरेलका अति दक्षिणपन्थी मानिने अर्थमन्त्रीले सामाजिक सञ्जालमा सङ्क्षिप्त पोस्ट गरेका थिए।

तेहरान काम्ने छ, प्रधानमन्त्री बेन्जमिन नेतान्याहुका निकट सहयोगी मन्त्री बेजालेल स्मोत्रिखले एक्समा लेखेका छन्।

इजरेली सेनाले इरानबाट क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको थियो।

उसको हवाई प्रतिरक्षा प्रणाली ती क्षेप्यास्त्र निस्तेज पार्न सञ्चालित भएको भन्दै उसले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा जान र थप सूचना पर्खन भनेको थियो।

यी पछिल्ला आक्रमणका विवरण युद्धविरामबारे दुवै देशले सहमति जनाएपछि आएको हो।

यी घटनाक्रमले युद्धविराममाथि अनिश्चय उब्जाएको जेरुसलेमस्थित बीबीसी संवाददाता ड्यान जोन्सनले बताए।

जोन्सनका अनुसार तेहरानले क्षेप्यास्त्र प्रहार गरेको अस्वीकार गरेको छ।

ूहामीलाई थाहा छैन त्यो कसरी प्रहार भयो। कतै कुनै गल्ती भयो वा अन्य केही कारण छन् तर यसलाई वरिष्ठ अधिकारीहरूले युद्धविरामको उल्लङ्घन मानेका छन्,ू जोन्सनले भने।

इजरेलका मानिसहरूका निम्ति यो समय अनिश्चयपूर्ण छ।

आउने घण्टा, दिन तथा साताहरूमा शान्ति छाउन लागेको उनीहरूले अपेक्षा गरिरहँदा पुनः हवाई साइरन बज्न थालेका छन्, जोन्सनले भने।

यसैबीच इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) का प्रमुखले इरानको कदमलाई गम्भीर उल्लङ्घन भन्दै उनको सेनाले सशक्त रूपमा त्यसको प्रतिवाद गर्ने बताए।

आईडीएफको एक्स पेजमा एयाल जमीरलाई उद्धृत गर्दै लेखिएको छ, इरानी सत्ताले युद्धविरामको गम्भीर उल्लङ्घन गरेको पृष्ठभूमिमा हामी त्यसको सशक्त प्रतिवाद गर्ने छौँ। बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर